मन्त्री छनोट गर्न कांग्रेसद्वारा मापदण्ड तयार
काठमाडौं । नेपाली कांग्रेसले नकेपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने निर्णय गरेको छ । शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो ।
साथै बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरु चयन गर्न छनोट मापदण्ड समेत बनाएको छ । बैठकले योगदान र योग्यता, समावेशीता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गरिने मापदण्ड बनाएको सो पार्टीको प्रवक्ता प्रकाशशरण महतले बताए । उनका अनुसार, सकेसम्म एकैपटक मन्त्रीहरुको टुंगो लगाएर जाने तयारी गरिएको छ ।
यस्तै, बैठकले नारायणगढ—मुग्लिङ सडकको सिमलतालमा पहिरोमा परेर दुई बस त्रिशूली नदीमा खस्दा करिब ५ दर्जन भन्दा बढी यात्रुहरू अज्ञात रहेको घटनालगायत विपद्का घटनामा परेर मृत्यु हुनेहरुप्रति गहिरो समवेदना व्यक्त गरेको थियो । साथै उद्धार, हराएकाहरूको खोजी, नागरिकलाई सुरक्षित स्थलतर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियताका साथ लाग्न सम्बन्धित निकायसँग आग्रह समेत गरिएको छ ।
