हेटौंडामा युवा नमूना संसद अभ्यास कार्यक्रम

तु खबर संवाददाता
२०८१ असार ५, बुधबार १९:०९

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा युवा नमूना संसद अभ्यास कार्यक्रम सुरु भएको छ । कार्यक्रम बागमती प्रदेश युवा परिषद्को आयोजनामा बुधबारबाट सुरु भएको हो ।

कार्यक्रमको बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । सो क्रममा बोल्दै मन्त्री थपलियाले आफ्नो लक्ष्य र उद्देश्यलाई स्पष्ट रुपमा बुझेर नै अघि बढ्नुपर्ने बताउँदै अभ्यासको क्रममा सिकेका सीपहरुलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए ।

यसैगरी, परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले युवाहरुले देशको नेतृत्व गर्न सक्दैन, मुलुक बनाउन सकिंदैन भन्ने गलत भाष्यलाई चिर्नुपर्ने बताए ।

युवाहरुमा नेतृत्व विकास तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम असार ८ गतेसम्म संचालन हुनेछ ।

कार्यक्रममा बागमती प्रदेशका १३ जिल्लाका स्थानीय तहको नगर वा गाउँ सभामा सहभागी भएर आएका दुई–दुई जना प्रतिनिधि नमूना सांसदको सहभागीता रहेको छ ।

उनीहरुले संसदीय अध्यास, संसदीय प्रणाली, संसदीय प्रक्रिया लगायतका विषयमा विभिन्न सत्रमा रहेर अभ्यास गर्नेछन् ।

अभ्यास कार्यक्रमको उद्घाटनमा प्रदेश तीति तथा योजना आयोगका सदस्य दिपेन्द्र श्रेष्ठ, हेटौंडा–१५ का वडाध्यक्ष सुनिल मोक्तान लगायतले मन्तव्य व्यक्त गरेका थिए ।