बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी आज समापन हुँदै
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा मंगलबारबाट सुरु भएको प्रदेशस्तरीय दुई दिने सुरक्षा गोष्ठी आज समापन हुँदैछ ।
संघीय सरकारको गृह मन्त्रालय र बागमती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त रुपमा आयोजित उक्त गोष्ठीको मंगलबार प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरेका थिए ।
गोष्ठीमा बागमती प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको अधिकृत, सशस्त्र प्रहरीको उच्च अधिकृत र नेपाली सेनाका उच्च अधिकृतहरुले सहभागिता जनाएका छन् ।
गोष्ठीको समापन कार्यक्रममा गृहमन्त्री रवि लामिछाने पनि आउने जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले जानकारी दिए ।
गृहमन्त्री लामिछाने उक्त सुरक्षा गोष्ठीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्न आउने बताइए पनि अन्तिम समयमा आएर उनी नआउने जानकारी गराइएको थियो ।
गोष्ठीमा विशेष गरी प्रदेशभरको शान्ति सुरक्षा, सेवा प्रवाहको अवस्था, विपद् नियन्त्रणका विषयमा छलफल हुने जनाइएको छ ।
