हेटौंडामा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा मंगलबारबाट प्रदेशस्तरीय दुई दिने सुरक्षा गोष्ठी सुरु भएको छ ।
बागमती प्रदेशस्तरीय उक्त गोष्ठी संघीय सरकारको गृह मन्त्रालय र बागमती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको हो ।
बुधबारसम्म संचालन हुने उक्त गोष्ठीको प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरेका हुन् ।
गोष्ठीमा बागमती प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको अधिकृत, सशस्त्र प्रहरीको उच्च अधिकृत र नेपाली सेनाका उच्च अधिकृतहरुले सहभागिता जनाएका छन् ।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठको विशेष आतिथ्यतामा भएको कार्यक्रममा नेपाली सेनाका रथी अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक बसन्तराज कुँवर, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख निर्देशक हुतराज थापा, बागमती प्रदेशका कामू प्रमुख सचिव गोविन्दबहादुर कार्कीलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम गृह मन्त्रालयका सचिव एकनारायाण अर्यालको सभाध्यक्षमा भएको हो ।
प्रदेश र संघीय सरकारबीच समन्वय गरेर सुरक्षा चुनौतिलाई विश्लेषण गरी जिल्लामा जनताको लागि सेवा प्रवाह गर्ने कार्यमा समिक्षा गरी सुरक्षाको नयाँ अवधारण तयार गर्ने उद्देश्यले उक्त गोष्ठीको आयोजना गरेको प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीेले जानकारी दिए ।
उक्त सुरक्षा गोष्ठीको समापण कार्यक्रममा गृहमन्त्री रवि लामिछाने पनि आउने जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले जानकारी दिए ।
गृहमन्त्री लामिछाने उक्त सुरक्षा गोष्ठीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्न आउने बताइए पनि अन्तिम समयमा आएर उनी नआउने जानकारी गराइएको थियो ।
गोष्ठीमा विशेष गरी प्रदेशभरको शान्ति सुरक्षा, सेवा प्रवाहको अवस्था, विपद् नियन्त्रणका विषयमा छलफल हुने जनाइएको छ ।
