‘अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य सुविधामा आवश्यक पहल गर्नेछ’
मकवानपुर । बागमती प्रदेशको स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले प्रदेशमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सुविधाका लागि मन्त्रालयले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
बुधबार राष्ट्रिय अपांङ्ग महासंघद्वारा सामाजिक विकास मन्त्रालयको सभाहलमा आयोजित छलफल तथा बधाई कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
अपाङ्गता भएका व्यक्तिका लागि आफु सदैव तत्पर रहने बताउँदै विशेष आँखा देख्न नसक्ने, हिड्न नसक्ने जस्ता अपाङ्गता भएका व्यक्तिहरुलाई प्राथमिकतामा राखी उपचारमा आवश्यक सहयोग गर्ने बताए ।
उनले त्यसका लागि सक्दो चाडो अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क विवरण उपलब्ध गराउन अपाङ्ग महासंघलाई मन्त्री श्रेष्ठले आग्रह गरे ।
अपाङ्गता भएका व्यक्तिका लागि गत वर्षबाट बजेट छुट्याईएको बताउँदै उनले हालसम्म लगभग २ करोड खर्च भइसकेको उल्लेख गरे ।
स्वास्थ्य क्षेत्रबाट पाएको सुविधा आवश्यक पर्ने व्यक्तिले पाउनुपर्ने र यस्ता कार्यमा जिम्मेवार संघसंस्था पनि जवाफदेही हुनुपर्ने उनको भनाई छ ।
पछिल्लो समयमा बागमती प्रदेशमा ७ हजार घरपरिवारले स्वास्थ्य बिमाको सुविधा लिइरहेको पनि मन्त्री श्रेष्ठले जानकारी गराए ।
छलफल कार्यक्रममा पि.एस.ओ नेपालका डम्बर बोहरा, नेत्रहिन महासंघ मकवानपुरका अध्यक्ष केदारबहादुर बजगाईँ, राष्ट्रिय अपाङ्ग महिला सेवाका प्रमुख सुप्रभा अपलिलगायतको सहभागिता रहेको थियो ।
