चिकित्सकहरुलाई ठोस् योजना बनाएर अगाडि बढ्न स्वास्थ्य मन्त्रीको आग्रह

तु खबर संवाददाता
२०८१ बैशाख ६, बिहीबार १८:०१

हेटौंडा । बागमती प्रदेशको स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले प्रदेश भित्रका विभिन्न अस्पतालका सम्बन्धित शाखाका प्रमुख र उपशाखाका उपप्रमुख लगायत अन्य चिकित्सकहरुलाई ठोस् योजना बनाई अगाडि बढ्न आग्रह गरेका छन् ।

बिहीबार सामाजिक विकास मन्त्रालयको सभाहलमा बागमती प्रदेश सरकार, स्वास्थ्य निर्देशनालयको आयोजनामा ‘चालु आर्थिक वर्ष २०८०÷८१ को तेश्रो त्रैमासिक अवधिसम्मको समीक्षा तथा आगामी आर्थिक वर्ष २०८१/८२ को तर्जुमा गोष्ठी कार्यक्रमको उद्घाटन कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो आग्रह गरेका हुन् ।

आगामी आर्थिक वर्षमा स्वास्थ्यका लागि चाहिने बजेट बढाएर लैजाने र आवश्यक कार्यक्रमहरु मात्र संचालन गर्नुको साथै बजेटले नभ्याउने कार्यक्रमलाई कम गरेर अगाडि बढ्ने मन्त्री श्रेष्ठले बताए ।

अस्पतालमा आएका विरामीहरुलाई उचित उपचार सेवा दिन मेडिकल सुपरिटेन्टहरुलाई आग्रह समेत गरे । ‘कामको समयमा कुनै समस्या आए सिँधै मलाई फोन गर्न सक्नुहुन्छ कुनै अफ्ठेरो मान्नु पर्दैन तर, काममा कम्प्रमाईज हुँदैन ।’ मन्त्री श्रेष्ठले भने ।

अस्पतालमा आएका बिरामीले भोलिपल्ट रिर्पोट लिन आउनुपर्ने समयको अन्त्य गर्दै तुरुन्तै रिर्पाेट लिने वातावरण बनाउन मेडिकल सुपरिटेण्टहरुलाई आग्रह गरे । सरकारले अस्पताल बिरामी कै सेवा गर्न बनाएको भन्दै त्यहि अनुसारको अस्पताल मै बसेर बिरामीलाई सेवा प्रवाह गर्न मन्त्री श्रेष्ठले निर्देशन दिए ।

उनले आगामी आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयमा नयाँ कार्यक्रमहरु समेत संचालन गर्ने बताए । अस्पतालमा ओपिडी टिकटमा एकरुपता नभएको भन्दै एकरुपता बनाउन आग्रह गरे । ‘बिरामी मात्र लक्षित नभई संस्थालाई पनि बचाउनु पर्छ र विपन्न नागरिकलाई पनि बचाउँन आवश्यक छ । कसैलाई पनि असर नपर्ने गरि काम गर्नुपर्छ ।’ मन्त्री श्रेष्ठले भने ।

स्वास्थ्य निदेशनालयका निर्देशक दिपक तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक तथा योजना मन्त्री जगन्नाथ थपलिया, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुुलपति प्रा.डा. विश्वराज जोशी, प्रदेशका केन्द्रिय स्वास्थ्य निकायका निर्देशकहरु, जनस्वास्थ्य कार्यलयका प्रमुख, प्रदेश अस्पतालका मेडिकल सुपरिटेण्टहरु र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।