कांग्रेसले उपनिर्वाचन परिचालन संयोजक तोक्यो
काठमाडौं । नेपाली कांग्रेसले आसन्न हुने उपनिर्वाचनका लागि चुनाव परिचालन संयोजक तोकेको छ ।
कांग्रेसले आगामी वैशाज १५ मा इलाम प्रतिनिधि सभा २ र बझाङ प्रदेश सभा १ मा हुने उपनिर्वाचनका लागि दुई चुनाव परिचान संयोजक तोकेको हो ।
कांग्रेसले इलाम–२ का लागि महामन्त्री विश्वप्रकाश शर्मा र बझाङ प्रदेश सभा (१) का लागि पूर्वमन्त्री एनपी साउदलाई संयोजक तोकेको हो ।
चुनावी प्रचार अभियानलाई प्रभावकारी बनाउने गरी कार्यक्रमहरू तय गरिने महामन्त्री शर्माले जानकारी दिए ।
१५ वैशाखमा हुने उपनिर्वाचनका लागि कांग्रेसले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाएको छ । खड्का जिल्ला सभापति समेत हुन् । उनी गत निर्वाचनमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङसँग ११४ मतले पराजित भएका थिए ।
बझाङ प्रदेश सभा (१) मा अभिषेक सिंहलाई कांग्रेसले उम्मेदवार बनाएको छ । उनी सडक दुर्घटनामा मृत्यु भएका सुदूरपश्चिमका पूर्वमन्त्री पृथ्वीबहादुर सिंहका छोरा हुन् ।
