‘सहकारीलाई विश्वासिलो वित्तिय सारथीका रुपमा स्थापित गराउनुपर्ने’
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सहकारीलाई विश्वासिलो वित्तिय सारथीका रुपमा समाजमा स्थापित गराउनुपर्ने बताएका छन् ।
‘सहकारीमा सुशासनः प्रविधि र एकीकरण’ भन्ने नारासहित मंगलबार मनाइँदै गरिएको ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले सहकारीमा आइपरेका विकृति–विसंगतिको अन्त्य गर्नुका साथै यसका मूल्यमान्यतामा आधारित भएर सहकारी सञ्चालन गरिनुपर्ने बताएका हुन् ।
‘आफ्ना सदस्यहरुको बचत सुरक्षा गर्नु, सहकारीमा आइपरेका विभिन्न विकृतिको अन्त्य गर्नु र यसको मूल्य, मान्यता एवम् सिद्धान्त बमोजिम विश्वासिलो वित्तिय सारथीका रुपमा समाजमा स्थापित गराउनु सहरकारीको आफ्नै दायित्व हो ।’ प्रमुख शर्माको शुभकामना सन्देशमा भनिएको छ ।
पछिल्लो समय सहकारी क्षेत्रमा केही विकृतिहरु देखा परेको भन्दै प्रमुख शर्माले यस्ता विकृति र विसंगतिहरुलाई नियन्त्रण गर्दै नीति, विधि एवम् पद्धति अनुसार सहकारी सञ्चालनका लागि यसमा संलग्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
प्रमुख शर्माले आफ्नो सन्देशमा हाम्रो देशमा वि.सं.२०१३ सालमा बखानपुर ऋण सहकारी समिति स्थापित भएसंगै सहकारी अभियान सुरु भएको उल्लेख गर्दै समुदायमा छरिएर रहेको पुँजी र बैंकको पहुँच बाहिर रहेका विपन्न वर्गलाई समेटी उनीहरुको आर्थिक रुपान्तरणमा सहकारीहरुको योगदान अत्यन्त महत्वपूर्ण रहेको बताए ।
अहिले सहकारी अभियानले ग्रामीण र शहरी क्षेत्रमा तिब्रता पाएको भन्दै प्रमुख शर्माले विशेषतः ‘सबैका लागि एक र एकका लागि सबै’ भन्ने मूल ध्येयका साथ यो अभियान अगाडी बढिरहेको उल्लेख गरे । सहकारी अभियानले नागरिक सबलीकरणमा योगदान पुर्याइरहेको प्रमुख शर्माको भनाई छ ।
तीव्र आर्थिक वृद्धि र दिगो विकास गर्न सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र विकासमार्फत् उपलब्ध साधन एवम् स्रोतको अधिकतम् परिचालन गर्ने कुरा संविधानमै उल्लेख गरी सहकारीलाई अर्थ नीतिको एक खम्बा मानिएको भन्दै शर्माले यसको विकास तथा निरन्तरताका लागि तीनै तहका सरकारको आवश्यक सहयोग र समुचित प्रबन्ध आवश्यक रहेको बताए ।
सहकारी आन्दोलनलाई राष्ट्र उत्थानको आधारस्तम्भ बनाउन सबैलाई यो दिवसले अभिप्रेरित गरोस् भन्ने पनि उनले व्यक्त गरे ।
