के गर्दैछन् देउवा ?

तु खबर संवाददाता
२०८० फाल्गुन २४, बिहीबार ०८:४८
file-photo

काठमाडौँ । केन्द्र सरकारमा नयाँ समिकरण बनेसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैकल्पिक गठबन्धन बनाउने प्रयास गरेका छन् । तर, नेकपा एकीकृत समाजवादीले प्रचण्ड नेतृत्वको सरकारमा जाने निर्णय गरेसँगै उनको प्रपासले सफलता पाउन सकेन ।

प्रतिपक्षी बेञ्चमा कांग्रेससँगै केही साना दललाई राख्न सफल भएका देउवाले कुनै पनि बेला सत्ता गठबन्धन बदल्न सक्ने सम्भावना भने खुला राखेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सोमबार कांग्रेस गठबन्धन छाडेर एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग नयाँ गठबन्धन बनाएका थिए । कांग्रेससँग गठबन्धन बनाएर चुनाव लडेका प्रचण्डले १० पुसमा २०७९ मा पनि एमालेसँग गठबन्धन गरेका थिए । त्यो बेला देउवा निरीह जस्ता देखिएका थिए । प्रधानमन्त्री पदमा लोभ गरेकै कारण माओवादीले गठबन्धन छाडेको आरोपसमेत उनलाई थियो ।

२६ पुसमा पुग्दा विश्वासको मत दिएर प्रधानमन्त्री प्रचण्डको विश्वास जितेका देउवाले फागुनमा राष्ट्रपति निर्वाचनसम्म पुग्दा पुरानै गठबन्धन ब्युँताउन सफल भए ।

यस पटक भने देउवा मात्र होइन, प्रचण्डले धोका दिएको निष्कर्षमा कांग्रेस एकमत देखिएको छ । मंगलबार बसेको कार्यसम्पादन समितिको बैठकमा सबै नेताले गठबन्धन तोड्नुको कारण भनेर माओवादी नेताहरुले जे भनेका छन्, त्यो बहाना मात्र भएको बताए । प्रचण्डले धोका दिएको निष्कर्षमा सबै सहमत भएपछि देउवाले भने, ‘धोकेबाज मात्र होइन, राजनैतिक बेइमान पनि हुन् ।’

कांग्रेस नेताहरुका अनुसार देउवा यो पटक प्रचण्डसँग बदला लिने मुडमा देखिएका छन् । त्यसैले उनले मंगलबार नै संघीय संसदमा रहेका दलका नेताहरुसँग फोनमा सम्वाद थाले । उनी बुधबार विहानै प्रमुख सचेतक रमेश लेखकलाई लिएर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको कोटेश्वरस्थित निवास पुगे ।

स्रोतका अनुसार देउवाले माधव नेपाललाई प्रधानमन्त्री बनेर अघि बढ्न प्रस्ताव गरेका थिए । एक वर्षपछि गठबन्धन गर्दा पनि माधव नेपाललाई दोस्रो पालोमा प्रधानमन्त्री बनाउने सहमति भएकाले अहिले नै सहजै प्रधानमन्त्री मान्न सकिने कांग्रेस नेताहरु बताउँछन् ।

दुवैले मिलेर जाने प्रस्ताव राख्दा पनि एकीकृत समाजवादीका अध्यक्ष नेपालले सहमति जनाएका थिएनन् । त्यसलाई बुझेका देउवाले एमाले, माओवादी र रास्वपा बाहेकको गठबन्धन बनाएर प्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए ।

२७५ सदस्यीय संसदमा बहुमतका लागि १३८ चाहिन्छ । सबभन्दा ठूलो कांग्रेसका ८८ सांसद छन् भने राप्रपासँग १४, जसपासँग १२, एकीकृत समाजवादीसँग १०, जनमत पार्टीसँग ६, नागरिक उन्मुक्ति पार्टीसँग ४, लोसपासँग ४, राष्ट्रिय जनमोर्चासँग रहेको १ सिट जोड्दा १३८ पुग्छ । देउवाले साना दलका नेताहरुसँग सम्वाद पनि गरेका थिए भने बुधबार दिउँसो जनमत, लोसपा र नाउपाको संयुक्त बैठक पनि राखेका थिए ।