उपनिर्वाचनः कांग्रेसले आगामी बैठकबाट उम्मेदवार टुंग्याउने

तु खबर संवाददाता
२०८० फाल्गुन १६, बुधबार १७:५३
file-photo

काठमाडौं । नेपाली कांग्रेसले आगामी बस्ने केन्द्रीय कार्यसमिति बैठकले उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउने भएको छ ।

फागुन मसान्तमा बस्ने कांग्रेस केन्द्रीय समिति बैठकले इलाम—२ र बझाङ प्रदेश (१) मा हुने उपनिर्वाचनको लागि उम्मेदवार टुंगो लगाउने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

निर्वाचन आयोगले इलाम प्रतिनिधिसभा–२ र बझाङको प्रदेशसभा (१) को उपनिर्वाचन आगामी २०८१ वैशाख १५ गर्ने घोषणा गरेको छ । त्यसका लागि चैत्र २४ गते उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका छ ।

त्यसलाई मध्येनजर गरी आगामी केन्द्रीय समिति बैठकले टिकटको टुंगो लगाउने महामन्त्री शर्माले बताए ।

एमालेबाट इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुवासचन्द्र नेम्वाङको भदौ २५ गते निधन भएको थियो । बझाङको प्रदेशसभा (१) बाट निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको निधनपछि उक्त सिट पनि रिक्त छ । ती दुबै रिक्त पदका लागि निर्वाचन हुन लागेको हो ।