अवैध गाँजासहित मकवानपुरबाट तीन जना पक्राउ

तु खबर संवाददाता
२०८० फाल्गुन ७, सोमबार १६:२३
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित तीन जनालाई गएराति पक्राउ गरेको छ ।

जिल्लाको राक्सिराङ गाउँपालिका–५, बोटबारीबाट ७० किलो लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका–१ सानो भावर बस्ने ५० वर्षीय पुर्ण बहादुर मोक्तान, २४ वर्षीय बावुलाल स्याङतान र राक्सिराङ गाउँपालिका–२ भाटी घर भई हाल हेटौंडा–११, थानाभर्याङ बस्ने २४ वर्षीय आमोस पुलामी मगर  रहेका छन् ।

प्रहरी चौकिबाट प्रहरी सहायक निरक्षक खटिएको गस्ती टोलिले उनीहरुलाई पक्राउ गरेको हो । गस्ति गर्दै जाने क्रममा राक्सिराङको भित्री सडक खण्डमा परेवा भिरबाट पलासे तर्फ आउँदै गरेको प्रदेश ३–००१ ह ०१९६ नम्बरको अटोलाई शंका लागी रोक्न खोज्दा अटो नरोकी भगाउने क्रममा पल्टिदा प्रहरीले २ (दुई) वटा बोरामा उक्त परिमाणको गाँजा फेला परेपछि निजहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको र अटो चालक फरार रहेकोले उनको खोजी कार्य भइरहेको जनाइएको छ ।