राष्ट्रपति र उपराष्ट्रपतिद्वारा प्रजातन्त्र दिवसको शुभकामना व्यक्त

तु खबर संवाददाता
२०८० फाल्गुन ७, सोमबार ०८:५८

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले एक सन्देश जारी गर्दै लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा राष्ट्रपतिले भनेका छन्, ‘मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा अङ्कित छ ।’

राष्ट्रपति पौडेलले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र जनता आफैंले बनाएको वर्तमान संविधान निर्माणको एउटा महत्वपूर्ण जगलाई बिर्सन नहुनेमा जोड दिए ।

यस्तै, सोही दिवसको अवसमा उपराष्ट्रपति यादवले लोकतन्त्रलाई प्रभावकारी बनाउन सरकार मात्रै होइन, सबै राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यमलगायत सबैको प्रतिबद्धता आवश्यक रहेको बताएका छन् ।

लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको र त्यसको प्रयोगमा सकारात्मक सोचका साथ अघि बढ्नु पर्ने उपराष्ट्रपति यादवले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।