युरोप पठाउने भन्दै ६३ लाख ठगेको आरोपमा पक्राउ
काठमाडौं । ‘युरोप पठाउँछु’ भनेर ६३ लाख रुपैयाँ ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ५५ जनासँग ६३ लाख ठगेको आरोपमा दुई जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेहरुमा सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर–३ घर भएर ललितपुर बस्ने ३५ वर्षीय रामेश्वर सिंह र धनुषाको मिथिला नगरपालिका–१० घर भएर ललितपुर बस्ने २७ वर्षीय राम सेवक सिंह रहेका छन् ।
राम सेवक रामेश्वरका बहिनी ज्वाइँ हुन् । ज्वाइँ र जेठान मिलेर लामो समयदेखि ठगीधन्दा चलाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
आफूलाई सरोज यादव र नागेन्द्र यादव भनेर चिनाउने रामेश्वरले अर्काको नामको नागरिकतामा ज्वाइँ राम सेवक सिंहको फोटो टाँसेर ठगी धन्दा चलाएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले बताए ।
उनीहरुले सरोज यादव र नागेन्द्र यादवको नागरिकता दुरुपयोग गरेको भेटिएको छ । सो नागरिकताबाट बैंक खाता संचालन गरेर कन्सल्टेन्सी समेत स्थापना गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
२०७४ देखि वैदेशिक रोजगार सम्बन्धी काम गरेका रामेश्वर यसअघि पनि ३ करोड ठगी मुद्दामा पक्राउ परेका थिए । २ सय जनासँग ३ करोड ठगेको कसुरमा उनी १ वर्ष ६ महिना जेल बसेर निस्केका हुन् ।
