चोरीमा संलग्न मकवानपुरका चार जना पक्राउ

तु खबर संवाददाता
२०८० माघ २२, सोमबार १६:२३

मकवानपुर । प्रहरीले विभिन्न स्थानबाट मोटरसाइकल र स्कुटर चोरी गरेको घटनामा संलग्न मकवानपुरका चार जनालाई पक्राउ गरेको छ ।प्रहरीले ललितपुर र काठमाडौं जिल्लाको छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले ललितपुरका विभिन्न स्थानबाट स्कुटर चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर भीमफेदी गाउँपालिका–७ घर भई काठमाडौं बल्खु बस्ने २८ वर्षीय सनम मगर र मकवानपुर हेटौंडा उपमहानगरपालिका–१९ चिसापानी घर भई काठमाडौं बल्खु बस्ने २० वर्षीय शैलेश आले रहेका छन् । उनीहरुलाई प्रहरी वृत्त चापागाउँ ललितपुरबाट खटिएको प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

ललितपुर महानगरपालिका–१३ नख्खु सनराईज अपार्टमेण्टबाट चोरी भएको बा.९७ प ३०२ नम्बर स्कुटरसहित सनम मगर र गोदावरी नगरपालिका–१३ झरूवारासीबाट चोरी भएको बा.९५ प २८०९ नम्बरको स्कुटरसहित शैलेश आलेलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप अनुमति लिई थप आवश्यक अनुसन्धान भइरहेको छ ।

त्यसैगरी, काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ माकलबारीबाट गत शुक्रबार चोरी भएको बागमती प्रदेश ०२–०३८ प ०३४५ नम्बरको मोटरसाइकलसहित २ जनालाई प्रशरीले शनिबार पक्राउ गरेको छ । प्रहरी चौकी भट्टेडाँडा ललितपुरबाट खटिएको प्रहरीले मकवानपुर बकैया गाउँपालिका–१ बस्ने १८ वर्षीय किशोर र बागमती गाउँपालिका–३ बस्ने २४ वर्षीय छविलाल बज्युलाई पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त बौद्ध काठमाडौंमा पठाइएको जनाइएको छ ।