अवैध लागूऔषधसहित तीन जना पक्राउ

तु खबर संवाददाता
२०८० माघ १८, बिहीबार १५:४३
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले बर्दिया र बाँके जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले बर्दियाको गुलरिया नगरपालिका–२ संगमबस्ती बस्ने २२ वर्षीय विजय तिरूवालाई अवैध लागूऔषध ब्राउनसुगरको धुलो ५ सय २० मिलिग्रामसहित बुधबार दिउँसो पक्राउ गरेको छ ।

कारागार सुरक्षा गार्ड बर्दियामा खटिएको प्रहरीले बर्दिया कारागारमा रहेका कैदीबन्दीहरूसँग भेटघाट गर्न आएका तिरूवालाई जाँच गर्ने क्रममा काँचो माछाभित्र लुकाई छिपाई ल्याएको उक्त लागूऔषध फेला परेपछि निजलाई पक्राउ गरिएको जनाएको छ ।

यसैगरी, प्रहरीले बर्दियाको मधुबन नगरपालिका–५ गाउँ नम्बर १० बस्ने २४ वर्षीय किरण पुन मगरलाई अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ६ सय ३० मिलिग्रामसहित बुधबार साँझ पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय ढोढरी र सानोश्रीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

उता, बाँकेको नेपालगंज उपमहानगरपालिका–१४ उदयपुरबाट अवैध लागूऔषध ब्राउनसुगर ११ ग्रामसहित भारत बहराईच बस्ने २६ वर्षीय अजिज शेषलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले युपी ३२ एफवाइ ०३९७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक शेषलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।