अवैध लागूऔषधसहित पाँच जना पक्राउ

तु खबर संवाददाता
२०८० माघ १७, बुधबार १५:४६
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङ, झापा र सिरहा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको हो ।

प्रहरीले मोरङको विराटनगर महानगरपालिका–१५, बैंक रोड चोकबाट अवैध लागूऔषध खैरो हेरोइन १९ ग्राम ३३ मिलिग्रामसहित मंगलबार सोही महानगरपलिका–१७ बस्ने १९ वर्षीया अनिता बैठालाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा बैठाले उक्त लागूऔषध विराटनगर महानगरपालिका–१७ घर भई सोही महानगरपालिका–१६ बर्मा टोल डेरा गरी बस्ने ३० वर्षीया सरस्वती गुरूङबाट ल्याएको खुल्न आएपश्चात प्रहरीले गुरूङको कोठा तलासी गर्दा डिजिटल तराजु १ थान फेला पारी उनलाई समेत पक्राउ गरेको हो ।

यसैगरी, मोरङको पथरीशनिश्चरे नगरपालिका–४ बकाईनोडाँडा बस्ने ३३ वर्षीय चित्र कुमार रपाल (वि.क) लाई अवैध लागूऔषध ब्राउनसुगर २५ ग्राम, मोबाइल ५ थान र डिजिटल तराजु १ थानसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

उता, झापाको मेचिनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्रामसहित बुद्धशान्ति गाउँपालिका–५ बस्ने २२ वर्षीय स्मार्ट थेवेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले सिरहाको लहान नगरपालिका–१२ भोटिया टोलबाट अवैध लागूऔषध ब्राउनसुगरसहित सोही ठाउँ घर भई सोही नगरपलिका–१२ भोटिया टोल डेरा गरी बस्ने २३ वर्षीय अजय कुमार पुर्वे सुडीलाई मंगलबार दिउँसो पक्राउ गरेको छ । उनलाई ३ ग्राम, डिजिटल तराजु १ थान र नगद २५ हजार ९ सय ९० रूपैयाँसहित पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले सुडीको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।