हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ

तु खबर संवाददाता
२०८० माघ १३, शनिबार १०:०६
सांकेतिक तस्बिर

काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले बिहीबार दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–१०, अनामनगर बस्ने ५० वर्षीय युवराज प्रसाई र सुनसरी धरान उपमहानगरपालिका–११, घर भई काठमाडौं महानगरपालिका–६ नयाँबस्ती बस्ने ३० वर्षीय विश्वास राई रहेका छन् ।

युवराजको घरमा अवैध रूपमा नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई रकमको हुण्डी कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

साथै थप अनुसन्धान गर्ने क्रममा काठमाडौं महानगरपालिका–६ बौद्ध नयाँबस्तीस्थित विश्वासको सटर कोठाबाट नगद ३० लाख १८ हजार रूपैयाँ, ल्यापटप २ थान र मोबाइल ५ थान बरामद गरेको छ ।

पक्राउ परेका उनीहरू उपर जिल्ला अदालत बबरमहल काठमाडौंबाट नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।