हेटौंडाबाट एक युवक पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित हेटौंडाबाटल आज दिउँसो एक युवकलाई पक्राउ गरेको छ ।
प्रहरीले पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटेस्थित पिपल चौताराबाट लागूऔषध खैरोहिरोइन २५ ग्राम १०० मिलिग्रामसहित एक युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौंको बागेस्वरी नगरपालिका वडा नम्वर ७ थलि बस्ने २१ वर्षीय उमेश परियार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, परियारलाई प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले पक्राउ गरेको हो ।
वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज ६१५५ नम्बरको सुमो गाडीलाई रोकी चेक जाँच गर्ने क्रममा उक्त गाडीमा सवार परियारकोसाथबाट सो परिमाणको लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।
