हेटौंडाबाट दुई भारतीय नागरिक पक्राउ

तु खबर संवाददाता
२०८० माघ ७, आईतवार ०८:३७
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुर प्रहरीले शनिबार अवैध लागूऔषधसहित हेटौंडाबाट दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीले पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट अवैध लागूऔषध अफिमसहित दुई भारतीयलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारतको मोतिहारी घर भई पर्सा रङपुरटाडीस्थित मिठाई पसल संचालन गर्दै आएका ४० वर्षीय जगु साह र भारतको मझपपुर मिनापुर थाना मस्ताफा ग्राम बस्ने ४० वर्षीया शाहील देवी रहेका छन् ।

प्रहरीले उनीहरुलाई १ किलोग्राम लागुऔषध अफिमसहित पक्राउ गरेको छ । प्रहरीका अनुसार, वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४८८४ नम्बरको यात्रुबाहक माईक्रो बसमा सवार साह र देवीले बोकेको झोला चेकजाँच सो परिमाणको लागूऔषध बरामद भएको हो ।

प्रहरीले बरामद अफिमसहित उनीहरुलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।