अवैध लागूऔषधसहित पाँच जना पक्राउ
मकवानपुर । प्रहरीले अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले सुर्खेतबाट २ जना र चितवनबाट ३ जना गरी जम्मा पाँच जना मंगलबार पक्राउ गरेको हो ।
प्रहरीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातापानीबाट अवैध लागूऔषध ब्राउनसुगर ८ ग्राम, नगद ३ हजार रूपैयाँ, कैंची १ थान, प्लाष्टिकको टुक्रा १० वटा, प्लेट १ थान र मोबाइल २ थानसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले वीरेन्द्रनगर नगरपालिका–३ बस्ने ३६ वर्षीय बलभद्र खत्रीसहित दुई जनालाई पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले खत्रीको घरबाट उक्त लागूऔषध लुकाई राखेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
यस्तै, चितवनको राप्ती नगरपालिका–५ मंगलटाडीबाट नियन्त्रित लागूऔषध प्रोमिथाजाइन ६ सय ट्याब्लेट, ट्रमाडोल ६ सय ६० ट्याब्लेट र ट्रमाडोल ३० एम्पुल र नगद १८ हजार ९ सय ५० रुपैयाँसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले राप्ती नगरपालिका–५ बस्ने २७ वर्षीय सुनिल तामाङसहित तीन जनालाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनीहरूलाई लागूऔषध किनबेच गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
ती दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
