जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
मकवानपुर । प्रहरीले देशको विभिन्न जिल्लाबाट जबरजस्ती करणी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा, दाङ र बाँके जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले झापाबाट ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचिनगर नगरपालिका–३ बस्ने इलाम रोङ गाउँपालिका–६ स्थाई वतन भएका २० वर्षीय दिपेश प्रधान रहेका छन् ।
प्रधानले ती बालिकालाई सोमबार राति सोही नगरपालिका–३ किरात मार्ग टोलस्थित सुपाडी बगानभित्र झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तै, प्रहरीले दाङबाट २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार साँझ एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ बस्ने ३१ वर्षीय सुवास पुलामी रहेका छन् ।
पुलामीले ती महिलालाई विवाह गर्छु भनी ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी, बाँकेबाट २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले मंगलबार तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खजुरा गाउँपालिका–१ जलपोखरी बस्ने २० वर्षीय युवराज राना, २० वर्षीय समिर थापा र २२ वर्षीय प्रबिण थापा रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई आधारमा ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, युवराज, समिर, प्रबिण र जानकी गाउँपालिका–२ चौधरीपुर बस्ने २० वर्षीय सन्देश थापा क्षेत्रीले ती महिलालाई सोही गाउँपालिका–१ जलपोखरीस्थित अरहरी बारीमा लगि कात्तिक ३० गते पालै पालो जबरजस्ती करणी गरेका थिए ।
ती महिलालाई करणी गर्नेमध्ये तीन जनालाई पक्राउ गरिए को र हाल सन्देश थापा क्षेत्री फरार रहेका छन् । उनको प्रहरीले खोजी गरिरहेको छ ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
