अवैध लागूऔषधसहित पक्राउ
मकवानपुर । प्रहरीले अवैध लागूऔषधसहित देशको छुट्टछुट्टै स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले बारा र अर्घाखाँची जिल्लाको विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरेको हो ।
प्रहरीले बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वास्थित नहर चोकबाट अवैध लागूऔषध गाँजा करिब १५ किलोग्रामसहित ३ जनालाई बुधबार राति पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका–१२ बस्ने २८ वर्षीय ताहीर अंसारी, भारत बिहार पूर्वी चम्पारण मोतिहारी आधापुर–४ बस्ने २१ वर्षीय इस्राफी हवारी र ३५ वर्षीय जफीर मिया रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई प्रहरी चौकी मटिअर्वाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, कलैयाबाट मटिअर्वातर्फ आउँदै गरेको प्र–२–०३–००१ ह ९१० नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी अटो चालक ताहीर र अटोमा सवार इस्राफी र जफीरलाई पक्राउ गरेको हो ।
यसैगरी प्रहरीले अर्घाखाँचीको सितगंगा नगरपालिका–३ ठाडाबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय २० मिलिग्रामसहित २ जनालाई बुधबार साँझ पक्राउ गरेको छ ।
प्रहरीले सन्धिखर्क नगरपालिका–१ बस्ने ४१ वर्षीय बब्लु सिंह गुप्ता र जुम्ला हिमा गाउँपालिका–१ घर भई सन्धिखर्क नगरपालिका–१ बस्ने ३१ वर्षीय हिकमत शाहीलाई पक्राउ गरेको हो । उक्त स्थानमा खटिएको प्रहरीले लु.५७ प २८१८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
ती दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
