खुकुरी प्रहार तथा कुटपिट गरी हत्या, दुई जना पक्राउ
मकवानपुर । प्रहरीले दुई वटा विभिन्न घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा र पर्सा जिल्लाबाट एक÷एक जनालाई विभिन्न घटनामा पक्राउ गरेको हो ।
प्रहरीले झापाबाट आफ्नै भिनाजुलाई खुकुरी र बाँस प्रहार गरी हत्या गरेको आरोपमा बुधबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बुद्धशान्ती गाउँपालिका–५ बस्ने ३५ वर्षीय रोशन अधिकारी रहेका छन् ।
प्रहरीका अनुसार, घरायसी विवादमा अधिकारीले खुकुरी तथा बाँस प्रहार गर्दा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ४५ वर्षीय धन बहादुर कट्वालको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको थियो ।
घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले अधिकारीलाई खुकुरीसहित पक्राउ गरेको हो ।
यसैगरी, प्रहरीले पर्साको पर्सागढी नगरपालिका–४ हरदासपुर टोल बस्ने ५८ वर्षीय राजिन्द्र रामको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही ठाउँ बस्ने ५० वर्षीय आशा चौधारीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, मादक पदार्थ सेवन गरी उनीहरूबीच सोमबार साँझ कुटपिट तथा झै–झगडा हुँदा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको हो ।
ती दुवै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
