अनलाइन ठगीको आरोपमा हेटौंडाका श्रेष्ठ

तु खबर संवाददाता
२०८० कार्तिक २१, मंगलवार १०:०४

मकवानपुर । अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट हेटौंडाका एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले हेटौंडा–१५ घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर १३ मा बस्दै आएका २३ वर्षीय शिरिष श्रेष्ठलाई पक्राउ गरेको हो । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

पक्राउ परेका श्रेष्ठले फेसबुक र इन्टाग्राम लगायत विभिन्न सामाजिक सञ्जालहरुमा साथी बनाएर माया प्रेमको प्रपञ्चमा पारी मिलियन डलर, आइफोन, घडी, गरगहना र ल्यापटप लगायतका सामानहरुसहितको उपहार पठाएको छु भनी ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, श्रेष्ठले विभिन्न नम्बरहरुमा सम्पर्क गरी पार्सल पठाएको फोटो, भिडियो पठाई विश्वास दिलाएको केही समय पश्चात सोही पार्सल टर्की विमानस्थल, काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थल लगायतका विभिन्न देशका भन्सार कार्यालयहरुमा सामान आइपुगेको भनी उक्त पार्सल पाउनका लागि भन्सार शूल्क, डेलिभरी शूल्क, बीमा शूल्क, जस्ता विभिन्न प्रयोजनमा रकम तिर्नु पर्छ भनेर विभिन्न व्यक्तिहरुको नाममा रहेका बैंक खातामा जम्मा १९ लाख २५ हजार रुपैयाँ पठाउन लगाएर ठगी गरेका थिए ।

पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान एवम् कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको जनाइएको छ ।