अवैध लागूऔषधसहित तीन जना पक्राउ
काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं र पर्सा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौंको दक्षिणकाली नगरपालिका–५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार ७ सय ७० ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भई नयाँबजार बस्ने २८ वर्षीय शिवराज दराईसहित २ जनालाई आइतबार बिहान उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, विरगंजबाट काठमाडौतर्फ आउँदै गरेको बा.८८ प ४१०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध बरामद भएपछि दुबैजनालाई पक्राउ गरिएको हो ।
यस्तै, प्रहरीले पर्साको वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चौकबाट अवैध लागूऔषध खैरो हेरोइन ५० ग्रामसहित भारत राज्य विहार पुर्वी चम्पारण मोतिहारी बस्ने २७ वर्षीय भुलावन पटेललाई शनिबार दिउँसो पक्राउ गरेको छ ।
प्रहरी चौकी ईनर्वा भन्सार पर्सा र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय विरगञ्जबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पदैल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
ती दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
