अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट १५ जना पक्राउ

तु खबर संवाददाता
२०८० कार्तिक १६, बिहीबार १७:१३

काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित १५ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाँके, उदयपुर, कैलाली, कञ्चनपुर, बर्दिया, बारा र चितवन जिल्लाको छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर ३ सय ३० मिलिग्रामसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही ठाउँ बस्ने ३० वर्षीय अनुप सुनारसहित पाँच जनालाई बुधबार साँझ पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, उदयपुरको चौदण्डीगढी नगरपालिका–९ भिमा मोहरीया चोकस्थित किराना पसलबाट अवैध लागूऔषध खैरो हेरोइन ८१ ग्राम ५ सय ५० मिलिग्रामसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले सुनसरी ईनरुवा नगरपालिका–६ बस्ने ४५ वर्षीय सलिम मियासहित दुई जनालाई बुधबार दिउँसो पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको को.२८ प ४९६८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

त्यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–३ त्रिनगर व्यारेल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ८ सय ६० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडी शिगास गाउँपालिका–९ बस्ने २४ वर्षीय सन्दिप चन्दसमेत २ जना रहेका छन् । विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरूलाई उक्त ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुई इँटाभट्टाबाट अवैध लागूऔषध खैरो हेरोइन ५ ग्राम ७० मिलिग्रामसहित सोही नगरपालिका–६ हात्तीबोझा बस्ने २९ वर्षीय जयराम रानालाई बुधबार राति पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी, बर्दियाको गेरुवा गाउँपालिका–३ शान्तिबजारबाट अवैध लागूऔषध ब्राउनुसगर १ ग्राम ५ सय ३० मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सोही गाउँपालिका–२ बस्ने २३ वर्षीय अमित चौधरी समेत २ जनालाई बुधबार साँझ पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

त्यसैगरी, बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकबाट अवैध लागूऔषध गाँजा १ किलो ४ सय ग्रामसहित बुधबार राति प्रहरीले भारत मोतिहारी रक्सौल बस्ने ४० वर्षीया सरिता देवीलाई पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले विरगञ्जतर्फ जाँदै गरेको ना.६ ख ९५३७ नम्बरको बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले चितवनको भरतपुर महानगरपालिका–१७ गाजिपुरबाट अवैध लागूऔषध खैरो हेरोइन करिब ५ ग्राम, नापतौल गर्ने मेसिन १ थान, नगद २८ हजार २ सय ३५ रूपैयाँ, १ हजार भारतीय रुपैयाँ र बैंकको चेक ३ थानसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही ठाउँ बस्ने २८ वर्षीय रोशन तामाङ समेत २ जनालाई बुधबार साँझ पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय फुलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।