नक्कली कागजात बनाएको आरोपमा पक्राउ

तु खबर संवाददाता
२०८० कार्तिक १६, बिहीबार १५:४८
सांकेतिक तस्बिर

काठमाडौं । श्रम स्वीकृति लगायत नक्कली कागजात बनाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा गोरखा घर भई हाल काठमाडौं बस्ने २३ वर्षीय अजित फेवाली र २१ वर्षीय विपिन ढकाल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, गत कार्तिक १२ गते भिजिट भिसामा विदेश जानका लागेका व्यक्तिहरू शङ्कास्पद रहेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पठाइएको थियो ।

अनुसन्धानका क्रममा सुजल हेङ्गजुको नाममा श्रम स्वीकृति नक्कली पाइएको र प्रहरीले सो बारे अनुसन्धान गर्दा सोल्टिमोडमा रहेको वैदेशिक रोजगारसम्बन्धी काम गर्ने ट्राभल्सबाट फेवाली र ढकाललाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।