अवैध लागूऔषधसहित ६ जना पक्राउ

तु खबर संवाददाता
२०८० कार्तिक १३, सोमबार १५:२८
सांकेतिक तस्बिर

काठमाडौं । अवैध लागूऔषधसहित प्रहरीले देशको विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले सिरहा, कञ्चनपुर र बाँके जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले सिरहाको धनगढीमाई नगरपालिका–१३ बाबुराम खोलाबाट अवैध लागूऔषध गाँजा करिब १३ केजीसहित आइतबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–१४ बस्ने ५० वर्षीय पदम बहादुर बिश्वकर्मा रहेका छन् । उनलाई ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टिबाट खटिएको गस्ती टोलीले उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो ।

यस्तै, कञ्चनपुरको बेलौरी नगरपालिका–६ बैसाखा पुलस्थित सडकबाट आइतबार दिउँसो अवैध लागूऔषध खैरो हेरोईन २ ग्राम ३५ मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बेलौरी नगरपालिका–६ ढक्काचाँदर बस्ने २५ वर्षीय उत्तम बुडाल र २८ वर्षीय महेन्द्र बुडाल रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.६ प ४३२७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी, प्रहरीले बाँकेको नेपालगंज उपमहानगरपालिका–१ धम्बोझीबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ३ सय मिलिग्रामसहित ३ जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय बिनोद तामाङ, २१ वर्षीया निलु वली र रूकुम मुसीकोट नगरपालिका–१ घर भई हाल बाँके नेपालगंज उपमहानगरपालिका–१८ बस्ने २१ वर्षीया लक्ष्मी बुढा मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके र प्रहरी बिट बुशालनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।