चरेस र चितुवाको छालासहित प्रहरी हवल्दार पक्राउ

तु खबर संवाददाता
२०८० कार्तिक २, बिहीबार ०९:०३

धनगढी । धनगढीमा चितुवाको छाला र चरेससहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । धनगढीको शहीदगेट नजिकैको एक होटलबाट विशेष सूचनाका आधारमा प्रहरी सहायक हवलदारसहितका तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदार करनबहादुर चन्द, बाजुराको गौमुल गाउँपालिका–१ का २६ वर्षीय धनकृष्ण रोकाया बुढिगंगा नगरपालिका– १० बस्ने ३० वर्षीय हेमराज जोशी रहेका छन् ।

उनका अनुसार उनीहरूको साथबाट प्लाष्टिकसहित ६ किलो ७९५ ग्राम चरेस र ७ फिट ६ इन्च चितुवाको छाला बरामद गरिएको छ ।

उनीहरुलाई लागूऔषध नियन्त्रण शाखा महेन्द्रनगर, सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) शाखा संघीय प्रहरी कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको सादा पोशाकको टोलीले संयुक्त रूपमा पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनामाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।