कुकर प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
उदयपुर । घरायसी विवादका कारण कुकर प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले उदयपुरबाट एक जनालाई पक्राउ गरेको छ ।
३० वर्षीया छविमाया राईको हत्या गरेको अभियोगमा त्रियुगा नगरपालिका–५ श्रीपुर बस्ने ३२ वर्षीय पिटर राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, पिटरले विवादको कारण खाना पकाउने कुकर प्रहार गर्दा छविमाया गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
उक्त घटनाबारे खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
