यो वर्ष मनसुनबाट ६३ जनाको ज्यान गयो, ३० जना बेपत्ता
काठमाडौं । नेपालमा यस वर्षको मनसुन गत आइतबारबाट बाहिरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो । नेपालमा यो वर्ष गत जेठ ३१ बाट मनसुन भित्रिएको थियो । मनसुनमा पूर्व जडान गरिएका ३४ वटा स्मार्ट साइरनबाट ८३२ वटा अलर्ट जारी भएका थिए ।
प्राधिकरणका प्रवक्ता धु्रबबहादुर खड्काका अनुसार, सो अवधिमा पहिरोका ४५९, भारी वर्षाका १६८, बाढीका १४२ र चट्याङका १२३ घटना गरी कूल ८९२ घटना अभिलेख भएका थिए ।
विपद्का घटनामा ९२ जनाको ज्यान गएको छ भने १६८ जना घाइते भएको उनले बताए । विपदमा परी ३० जना मानिसहरु अझै बेपत्ता रहेका छन् ।
मनसुन अवधिमा ६ हजार एक सय ३० परिवार प्रत्यक्ष प्रभावित भएका थिए । त्यस्तै, दुई सय ४३ निजी घरमा पूर्ण र ७२० वटा घर आंशिक क्षति पुगेको प्राधिकरणले जनाएको छ ।
