राष्ट्रपति पौडेलले गरे जिल्ला सभाहलको उद्घाटन

तु खबर संवाददाता
२०८० आश्विन ६, शनिबार १६:३४

तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–३ बीपी वन बाटिका, दमौलीमा निर्माण गरिएको जिल्ला सभाहलको उद्घाटन गरेका छन् ।

संघीय सरकारको सहरी विकास मन्त्रालयको सहयोगमा २३ करोड ६२ लाख ४३ हजार ३ सय ३१ रुपियाँ लागतमा डाँफे एमए प्रतिष्ठा जेभी काठमाडौंद्वारा निर्माण गरिएको उक्त सभाहलको राष्ट्रपति पौडेलले शनिबार उद्घाटन गरेका हुन् ।

राष्ट्रपतिलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, संघीय सरकारका सहरी विकास मन्त्री सीता गुरुङ, प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारी, प्रदीप पौडेल, गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आले, जिसस प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने लगायतले स्वागत गरेका थिए ।

यसअघि राष्ट्रपति पौडेलले व्यास नगरपालिका–३ स्थित बिपी पार्कको पनि उद्घाटन गरेका थिए । राष्ट्रपतिले उद्घाटन गरेको बीपी पार्क र बीपीको सालिक गण्डकी प्रदेश सरकारको १० लाख र पाँच लाख रुपियाँ विभिन्न संघसस्था तथा व्यक्तिबाट चन्दा सङ्कलन गरी निर्माण गरिएको पार्क संरक्षण समितिका अध्यक्ष सूर्यचन्द्र हड्खलेले जानकारी गराए ।