बुधबारसम्मका लागि स्थगित भयो प्रतिनिधि सभा बैठक

तु खबर संवाददाता
२०८० भाद्र ५, मंगलवार १५:४१

काठमाडौं । प्रतिनिधि सभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । आज दिउँसो ३ बजेका लागि तय भएको बैठक बुधबारसम्मका लागि स्थगित भएको हो ।

सुन तस्करी प्रकरणमा छानबिन समिति बनाउने भनेर राष्ट्रिय दलका शीर्ष नेतृत्व तहमा मोटामोटी सहमति भए पनि थप आकार लिएर संसद खुल्ने निश्चित नभइसकेकाले बैठक स्थागित भएको हो ।

संसदअघि शीर्ष तहको बैठक बसेर सुवास नेम्वाङ, रमेश लेखक र हितराज पाण्डेले तयार गरेको ड्राफ्टलाई अन्तिम रूप दिने बताइएपनि एमाले अध्यक्ष केपी शर्मा अनुपस्थित रहे । जसका कारण आजको शीर्ष तहको बैठक एजेन्डा तय नभई स्थगित हुन पुग्यो ।

लगत्तै संसद सचिवालयले पनि बैठक बस्ने दिन र समय परिवर्तन भएको सूचना सार्वजनिक गरेको हो ।