अवैधानिक रुपमा प्राध्यापक नियुक्त गरिएकोप्रति स्वतन्त्र विद्यार्थी युनियनको ध्यानाकर्षण
मकवानपुर । हेटौंडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसले अवैधानिक रुपमा तीन जना प्राध्यापक नियुक्त गरिएको भन्दै क्याम्पस प्रमुखलाई ध्यानाकर्षणपत्र बुझाइएको छ ।
बुधबार स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर क्याम्पसका अध्यक्ष छोइसाङ लामा (स्याङ्तान) सहितको टोलीले क्याम्पसमा पुगेर क्याम्पस प्रमुख डा. शंकर प्रसाद उपाध्यायलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
उक्त ध्यानाकर्षण पत्रमा मकवानपुर क्याम्पसको नेपाली विषयको प्राध्यापक रामचन्द्र सुवेदीको सेवानिवृत्त पश्चात क्याम्पसलाई नेपाली विषयको प्राध्यापक आवश्यक परेकोले क्याम्पसले एक जना प्राध्यापकको विज्ञापन आह्वान भएको ठाँउमा अवैधानिक रुपमा तीन जना प्राध्यापक नियुक्त गरेको उल्लेख गरिएको छ ।
क्याम्पसको विधि विधान भन्दा बाहिर रहेर नियुक्त गरिएको प्राध्यापकहरुलाई तत्काल हटाउन माग गर्दै यदी ती मागलाई ७२ घण्टा भित्र सम्बोधन नगरिएमा स्वतन्त्र विद्यार्थी युनियन थप आन्दोलको घोषणा गर्ने चेतावनीसमेत दिइएको छ ।
