पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

तु खबर संवाददाता
२०८० श्रावण १४, आईतवार ११:४८
file photo

जनकपुरधाम । महोत्तरीको सोनमामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको गोडइता नगरपालिका ९ बस्ने महेश मलिक डोमका ४ वर्षीया छोरी चंचला कुमारी र भारत बिहारको सितामढी रामनगरका रामभजन मलिक डोमकी ५ वर्षीया छोरी अर्चना कुमारी छन् ।

मावली गाउँ महोत्तरीको सोनमा गाउँपालिका–५ खैरबनी आएका दुबै बालिकाको शनिबार पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

प्रहरीका अनुसार आमाको साथमा मामा गाउँ आएकी अर्चना र चंचला शनिबार दिउँसो १ बजेदेखि ४ बजेसम्म सम्पर्कविहीन भएपछि खोजी सुरू गरिएको थियो । खोजतलासको क्रममा घरकै सामुन्ने रहेको रामविनय यादवको पोखरीमा डुबेको अवस्थामा शव फेला परेको हो ।

दुवै बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।