एमालेले गण्डकी बाहेक सबै प्रदेशको अधिवेशन मिति तोक्यो
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेशहरुको अधिवेशनको मिति तोकेको छ । केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले गण्डकी बाहेक सबै प्रदेशको अधिवेशन मिति तोकेको जानकारी दिए ।
उनका अनुसार, कोशी प्रदेशको अधिवेशन आगामी १२ र १३ गते, मधेश प्रदेशको अधिवेशन असोज ५ र ६ गते, बागमती प्रदेशको अधिवेशन असोज ८ र ९ गते गर्ने भएको छ ।
यसैगरी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले भदौभित्रै अधिवेशन गर्ने निर्णय गरेको छ । भदौ १६ र १७ मा लुम्बिनी, २९ र ३० मा कर्णाली, २२ र २३ मा सुदूरपश्चिम प्रदेशको अधिवेशन हुने भएको उनले बताए ।
अहिले कायम रहेको प्रदेश संगठन कमिटीले प्रथम अधिवेशनको मिति तोकेको हो । अधिवेशनमा एक सय संगठित सदस्य बराबर एक प्रतिनिधि हुनेछ ।
प्रतिनिधिमध्ये ३३ प्रतिशत महिला अनिवार्य गर्ने, उत्पीडित समुदाय र मजदुरलाई कोटामा प्रतिनिधि ल्याउने तयारी छ ।
प्रतिनिधि प्रक्रियाको चयन साउन १५ मा एमाले संगठन विभागले अभिलेखीकरण गर्ने सदस्यताको आधारमा हुनेछ ।
