एमालेले एघारौं महाधिवेशनमा १० लाख पार्टी सदस्य पुर्याउने संकल्प

तु खबर संवाददाता
२०८० श्रावण ४, बिहीबार १६:२३
file-photo

काठमाडौं । नेकपा एमालेले एघारौं महाधिवेशनमा १० लाख सदस्य पुर्याउने संकल्पका साथ पार्टी लागिरहेको जनाएको छ ।

संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले प्रेस वक्तव्य जारी गर्दै अर्को महाधिवेशनमा १० लाख सदस्य बनाउने संकल्पमा एमाले रहेको उल्लेख गरेका हुन् । जारी वक्तव्यमार्फत् अधिकारीले पार्टी सदस्यता घटेको नभएर बिगतको त्रुटि सच्याउने काम भएको पनि उल्लेख गरे ।

‘दशौं महाधिवेशनका बेला रहेको त्रुटिलाई पनि सच्याउन खोजिएको छ । त्यतिबेला कायम भएका सदस्यहरुमा एकातिर एकीकृत समाजवादीतर्फ गएका सबै सदस्यहरुको नाम यथावत् थियो भने अर्कोतिर नेकपा कालमा अनुचित ढंगले दिइएका सदस्यहरुको ठूलो संख्या पनि त्यसमा पर्न गयो’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दशौं महाधिवेशनमा एमालेले पार्टी सदस्य ८ लाख पुगेको जनाएको थियो । तर, त्यो संख्या वास्तविक नरहेको एमालेले प्रष्ट्याएको छ । पार्टी सदस्यता नवीकरण कम हुनुमा यसपटक लिइएको नयाँ नीतिले पनि काम गरेको वक्तव्यमा लेखिएकोछ ।