कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढल्यो
बिराटनगर । नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेश सभाले अस्वीकृत गरेपछि उनी नेतृत्वको सरकार ढलेको हो ।
९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक थियो । कार्कीको पक्षमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेश सभा सदस्यले मत दिए ।
उनको विपक्षमा भने ४३ मत खसेको थियो । नेपाली कांग्रेसका, माओवादी केन्द्र र एकीकृत समाजवादीले विपक्षमा मतदान गरे ।
आजको बैठकमा ८९ सदस्य मात्र उपस्थित थिए । जनता समाजवादी पार्टी (जसपा) की प्रदेश सभा सदस्य निर्मला लिम्बुसँगै प्रतिपक्षी दलका अरू दुई सांसद अनुपस्थित रहे । जसपाले यसअघि नै तटस्थ बस्ने निर्णय गरेको थियो ।
कार्की नेतृत्वको सरकार ढलेकाले अब कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।
