हिक्मत कार्की तेस्रो पटक मुख्यमन्त्रीमा नियुक्त, शपथ आजै

तु खबर संवाददाता
२०८१ बैशाख २७, बिहीबार १५:४४
file-photo

विराटनगर । नेकपा एमाले नेता हिक्मतकुमार कार्की तेस्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका छन् ।

आफैंले नेतृत्वमा पुर्याएका केदार कार्कीलाई विस्थापित गर्दै हिक्मत तेस्रो पटक मुख्यमन्त्रीको पदमा नियुक्त भएका हुन् ।

प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई ५२ जना सांसदको हस्ताक्षर सनाखत भएसँगै मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नयाँ मुख्यमन्त्रीका लागि कार्कीले आजै बिहान ५२ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष आफ्नो दाबी पेश गरेका थिए । उनलाई एमालेका ३९ र माओवादी केन्द्रका १३ सांसदले समर्थन गरेका हुन् ।

नवनियुक्त मुख्यमन्त्री कार्कीले आजै साँझ ५ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने जनाइएको छ ।