बागमती प्रदेश सभाको अर्को बैठक भोलि बस्ने

तु खबर संवाददाता
२०८० जेष्ठ ९, मंगलवार १७:००
file-photo

मकवानपुर । बागमती प्रदेश सभाको बैठक भोलि बुधबारसम्मका लागि स्थगित भएको छ । प्रदेश सभाको सभामुख भुवनकुमार पाठकले प्रदेश सभाको अर्को बैठक भोलि जेष्ठ १० गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको जानकारी गराएका हुन् ।

आज बसेको प्रदेश सभा बैठकमा सभामुख पाठकले प्रमाणीकरण सम्बन्धी पत्र विधेयक फिर्ता सम्बन्धी पत्र र सन्देशको पत्र पढेर सुनाएका थिए । सभामुख पाठकले आजको बैठकमा विशेष समय नरहेको व्यहार जानकारी गराउँदै शुन्य समयको प्रारम्भ गरेका थिए ।

बैठकको शुल्य समयमा सत्तापक्ष र प्रतिपक्ष दलका प्रमुख व्यक्तिहरुले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । बैठकमा उनीहरुले राष्ट्रिय सरोकारको साथै बाढीपहिरोबाट प्रभावित क्षेत्रलाई समय मै सरकारको तर्फबाट निगरानी र उद्दार कार्यको लागि सजकता अपनाउनुपर्ने धारणा व्यक्त गरे ।

प्रदेश सरकारले जनताको लागि पूर्वाधार विकास, आर्थिक समृद्धिलाई अग्रसर तुल्याउन जनमुखी कार्यक्रम ल्याउनुपर्ने सु्झाव दिएका थिए । उनीहरुले प्रदेशको सबै जिल्लाहरुलाई सदरमुकामसम्म जोड्ने सडक सञ्जाल, खानेपानी, विद्युतको विस्तार र स्वास्थ्य उपचार गर्ने कार्यलाई प्राथमिकतामा राखेर बजेटलाई कार्यान्वयन गर्नुपर्ने उल्लेख गरे ।

उनीहरुले प्रदेशमा सुशासन ल्याउन र बढ्दै गएको भ्रष्टाचारलाई न्यूनिकरण गर्नका लागि सबै राजनीतिक दलहरुमा दलगत स्वार्थ त्यागेर कठोर कलम चाल्न आग्रह गरे । बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी जुनसुकै दलका नेता भएपनि कानूनी कठघरामा उभिनु पर्ने बताउँदै सांसदहरुले त्यस्ता व्यक्तिहरुलाई राजनीतिक दलका उच्च नेताहरुले संरक्षण दिन नहुनेतर्फ सबैले आत्मसमिक्षा गर्नुपर्ने समय आएको स्पष्ट पारेका थिए ।

प्रदेश सरकारले प्रदेशको सबै जिल्लामा सुशासनलाई कार्यान्वयन गर्न र जनतालाई आधारभुत रुपमा विकासको पूर्वाधार, प्रत्यक्ष रोजगारीको अवसर, उच्च शिक्षा र गुणस्तरीय शिक्षालाई प्रभावकारी रुपमा परिचालन गर्ने गरी बजेट ल्याउनुपर्ने उनीहरुले माग गरे ।

बैठकमा नेपाली कांग्रेसका नेता कुन्दनराज काफ्ले, नेकपा एमालेका बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसुदन प्रसाद पौडेल, राप्रसा संसदीय दलका नेता उद्धब थापा, बागमती प्रदेश नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनाल र हाम्रो नेपाली पार्टी संसदीय दलका नेता शैलेन्द्र राज बज्राचार्यल लगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

यस्तै, बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामा तामाङ्ले प्रदेश सरकारको तर्फबाट विनियोजन विधेयक २०८० को सिद्दान्त र प्राथमिकताको सम्बन्धमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उक्त प्रतिवेदनमा सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि प्रदेशभित्र गुणस्तरीय स्वास्थ्य सेवाको प्रवाह साथै शिक्षालाई दक्ष उत्पादनमुलक बनाउने र रोजगारीलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्दै लैजाने उद्देश्य रहेको उनले जानकारी दिए ।

उनले प्रदेशका विपन्न नागरिकहरुलाई आर्थिक आयआर्जनतर्फ कृषि उद्यमी र उत्पादनको लागि प्याकेज कार्यक्रम सञ्चालन गर्ने र साना उद्यमीहरुलाई उद्योग सञ्चालनको लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेतर्फ जोड दिए ।

उक्त बैठकमा उनले विनियोजन विधेयक २०८० को सिद्धान्त र प्राथमिकताको सन्दर्भमा दफावार छलफल गरियोस् भनी प्रस्ताव टेबुल गरे । उक्त विधेयकमाथि भोलि पूर्ण बैठकमा दफावार छलफल हुने प्रदेश सभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।