आज वर्षादेखि हावाहुरीसम्मको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार सोमबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको तराईका भू–भागमा सामान्य हावाहुरीको सम्भावना रहेको छ ।
यस्तै, भोलि मंगलबार पनि देशको पहाडी भू–भागका आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। देशका तराई भू–भागका केही स्थानहरूमा सामान्य हावाहुरीको सम्भावना रहेको छ ।
