राष्ट्रिय सभा बैठक आईतबार बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसद् अन्तरगत राष्ट्रिय सभाको बैठक आइतबार बस्दैछ । चौधौँ अधिवेशनको पहिलो बैठक आईतबार अपराह्न ४ः०० बजे बस्ने भएको हो ।
उक्त बैठकमा राष्ट्रिय सभाका अध्यक्षले अधिवेशन आह्वानसम्बन्धी सम्माननीय राष्ट्रपतिबाट प्राप्त पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको संघीय संसद्को महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।
त्यस्तै, अन्य सम्भावित दैनिक कार्यसूचीमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने रहेको छ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ सभा समक्ष पेस गर्नेछन् ।
त्यसैगरी, अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘ आ.व. २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल गरियोस्ू भन्ने प्रस्ताव पेस गर्नेछन् ।
