राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक प्रमुख कार्यसूचीमा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालिरहेकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आज बस्ने बैठकमा ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने भएकी छन्।
सङ्घीय संसद् सचिवालयका अनुसार आज अपराह्न १ः१५ बजेका लागि निर्धारण गरिएको राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री कार्कीले उक्त विधेयक छलफलका लागि प्रस्ताव गर्दै पारितसमेत गर्न सभासमक्ष पेस गर्नेछिन्।
आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची रहेको छ।
यसैगरी, विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले ‘विधायन व्यवस्थापन समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन’ राष्ट्रियसभामा पेस गर्नेछिन्।
त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको संसद् सचिवालयले जनाएको छ।
