‘गौतम बुद्धको जन्मभूमि नेपाल हुनु गौरवको विषय हो’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताएका छन् ।
२५६७ औँ बुद्ध जयन्तीको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले विश्व शान्तिका प्रकाश भनेर सम्मान गरिने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीहरूका लागि गौरवको विषय भएको बताएका हुन् ।
उनले गौतम बुद्धले प्रतिपादन गरेको अहिंसा र शान्तिको सन्देशले व्यक्ति, परिवार, समाज, देश र विश्वको सर्वोत्तम हित र प्रगतिका लागि सदैव प्रेरणा दिने विश्वाससमेत व्यक्त गरे ।
सन्देशमा भनिएको छ, “शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवम् सबल बनाउन सकिने विश्वास मैले लिएको छु ।”