पूर्व गृहमन्त्रीका छोराविरुद्ध पक्राउ पुर्जी जारी

तु खबर संवाददाता
२०८० बैशाख २०, बुधबार १८:३९

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असूली गरेको गिरोहलाई सहयोग गरेको अभियोगमा पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत, काठमाडौंले उनलाई पक्राउ गर्न पुर्जी दिएको अदालत स्रोतले जनाएको छ । थापाले बुबा गृहमन्त्री भएका बेला शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै असुली गरेको गिरोहबाट आर्थिक लाभ लिएर अनुचित कार्य गरेको भन्दै प्रहरीले पक्राउ पुर्जी जारी गरिदिन अदालतमा भनेको थियो ।

त्यसअनुसार प्रहरीले पेश गरेको प्रमाणका आधारमा पक्राउ पुर्जी जारी भएको अदालतले स्रोतको भनाइ छ ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत्र १२ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असूली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए ।

उनीहरुको बयानको आधारमा पूर्व गृहमन्त्री बादलका छोरा प्रतिकलाई पनि पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको हो । उक्त प्रकरणमा पूर्व गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, पूर्व गृहसचिव एवम् राष्ट्रपति कार्यालयका वहालवाला सचिव टेकनारायण पाण्डे समेत पक्राउ परिसकेका छन् ।

उक्त कार्यमा संलग्न रहेको आरोपमा तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार डा.इन्द्रजित राई पनि पक्राउ गरिएको छ । राईलाई प्रहरीले मंगलबार ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो । हाल उनी जिल्ला प्रहरी परिसर, टेकुको हिरासतमा राखिएको छन् ।