मकवानपुरका एक वडाध्यक्षसहित तीन जना प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष शिवराज थिङलाई लागूऔषध गाँजासहित प्रहरीले सोमबार पक्राउ गरेको छ । ३९ वर्षीय वडाध्यक्ष थिङ अवैध लागूऔषध गाँजा २०२ किलोसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, उनीसँगै अर्का दुई जना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा थाहा नगरपालिका–७ आग्रा बस्ने ७६ वर्षीय भिमबहादुर थिङ र ६७ वर्षीय ईन्द्रबहादुर थिङ रहेका छन् ।
उनीहरुलाई आज बिहान ८ बजेको समयमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौंबाट खटिएको प्रहरी टोली र इलाका प्रहरी कार्यालय पालुङका प्रहरी नायव निरीक्षक उमेश प्रसाद कोईरीको कमाण्डमा खटिएको संयुक्त टोलीले उक्त गाँजासहित पक्राउ गरेको हो ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, विक्री–वितरण गर्ने उद्देश्यले लुकाईछिपाई राखेको अवस्थामा भिमबहादुर र शिवराजको घरबाट ३० वटा पोकाहरुमा २७ किलो ग्राम गाँजाको धुलो र ईन्द्रबहादुरको घरबाट १० वटा बोराहरुमा १७५ किलो लागूऔषध गाँजा गरी कुल जम्मा २०२ किलो बरामद गरिएको हो ।
पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको हिरासतमा राखी आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीको प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
