प्रतिनिधि सभा बैठक बस्दै
काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा संघीय संसद् अन्तर्गतका संयुक्त तथा प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिका सदस्यहरूको नाम भने मनोनयन हुने भएको छ ।
आज सांसदले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा संसदीय समितिमा सदस्य मनोनयन मात्रै हुने उल्लेख छ । आजको बैठकमा संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि भने छलफल नहुने भएको छ । प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा आज पनि सो विधेयक समावेश छैन ।
यसअघिको बैठकमा सो विधेयकमाथि छलफल गर्ने भनेर सम्भावित कार्यसूचीमा समावेश गरिए पनि अन्तिम समयमा हटाइएको थियो ।अघिल्लो बैठकमा कार्यसूचीबाट हटाइएको सो विधेयक आज आउने अपेक्षा गरिएको थियो । सो विधेयक पारित हुन नसक्दा सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्त हुने बाटो अझै खुल्न सकेको छैन । कायममुकायम प्रधानन्यायाधीशबाट चल्दै आएको न्यायालयलाई नेतृत्वविहीन अवस्थाबाट मुक्त गराउनका लागि सो विधेयक पारित हुनु अनिवार्य छ ।
