आचारसंहिता उल्लंघन गरेको आरोपमा रवि लामिछानेविरुद्ध उजुरी
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा उजुरी परेको छ ।
चितवन निर्वाचन क्षेत्र नम्वर २ को उप–निर्वाचनका क्रममा आचारसंहिता उल्लघंन गरेको भन्दै लामिछानेविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।
उनीविरुद्ध नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रवराज पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन क्षेत्र नं. २ मा उजुरी दिएका हुन् ।
मतदान भइरहेको बेलामा रास्वपा अध्यक्ष लामिछानेले सामाजिक सञ्जाल र अनलाइनबाट मत मागेको, लामिछानेले मतदान केन्द्रमा हुलहुज्जत गर्ने गराउने गरी मतदातालाई प्रभावित बनाएको उजुरीमा उल्लेख गरिएको छ ।
किरण मावि भोजाड मतदान केन्द्रमा विवादपछि रास्वपाका प्रतिनिधिसहित बसेको सर्वदलीय बैठकले रास्वपाले आचारसंहिता उल्लंघन गरेको स्वीकार गर्दै कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेका पनि उजुरीमा छ ।
