उप-निर्वाचनको दिन वर्षा हुनसक्ने, आवश्यक तयारी गर्न निर्देशन
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य उप–निर्वाचन अन्तर्गतका तीन वटै क्षेत्रको आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएको छ । आयोगले एक जिज्ञप्ती जारी गर्दै आसन्न बैशाख १० गते हुने उप–निर्वाचनमा तीन वटै क्षेत्रमा हावाहुरी र वर्षाको सम्भावना रहेको भन्दै त्रिपाललगायतका सामग्रीको जोहो गर्न निर्देशन दिएको हो ।
आयोगद्वारा जारी गरिएको विज्ञप्तिमा बैशाख १० गते चितवन–२, बारा–२ र तनहुँ–१ मा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य उप–निर्वाचनको मतदान कार्य सम्पन्न नभएसम्मका लागि तोकिएका सबै मतदानस्थल तथा मतदान केन्द्रहरूमा हावाहुरी र वर्षादको कारण मतदान कार्य प्रभावित हुनसक्ने सम्भावनालाई मध्यनजर राखी उक्त दिन मतदान कार्य सुचारू रूपले सम्पन्न गर्न भनिएको छ ।
साथै विज्ञप्तिमा निर्वाचन सामग्रीहरू समेतको सुरक्षा गर्न आवश्यक पर्ने पूर्वतयारी लगायत आवश्यक पाल/त्रिपाल वा प्लाष्टिकको व्यवस्था गर्न सम्बन्धित जिल्लाका विपद व्यवस्थापन समिति, निर्वाचन क्षेत्र भित्रका स्थानीय तहहरू तथा सम्बन्धित स्थानीय तहका स्थानीय तह विपद् कार्य सञ्चालन केन्द्रहरूलाई आयोगको निर्णयानुसार निर्देशन दिइएको र सो को आवश्यक समन्वय एवम्सहजीकरण नेपाल सरकार, गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मिलाउनसमेत अनुरोध गरिएको छ ।
