‘पहिचान नै सकिएपछि प्रदेश नामकरणको के अर्थ ?’
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले कोशी प्रदेश नामकरणको विरोधमा केही किराँती नेता र संस्थाहरुले चलाइरहेको आन्दोलनप्रति आफ्नो धारणा व्यक्त गरेका छन् ।
अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत यस्तो धाराण राखेका हुन् । किरातीहरुले खोजिरहेको पहिचानको आधार विस्तारै खस्कँदै गएको धारणा राख्दै उनले यसबारे गम्भीर बन्न आग्रह गरे ।
विगत केही वर्षयता भइरहेको धर्म परिवर्तनको डढेलोको सबैभन्दा बढी नकारात्मक प्रभाव किरात समुदायमा परेको उनको भनाइ छ ।
यसमा हिन्दु र बुद्धिष्टहरुको संख्या पनि निकै घटेको गएको बताउँदै यस्तो संवेदनशील विषयमा दल, संसद्, सरकार र धार्मिक सांस्कृतिक संस्थाहरुको गम्भीर ध्यान नगएको आरोप लगाएका छन् ।
‘किरात धर्म संस्कृति र किरात–लिम्बुहरूको पहिचान नै सकिए पछि प्रदेशको नामकरणको अर्थ नै के रहन्छ र ?’ , थापाको प्रश्न छ । यसबारे ध्यान दिन उनले सम्बद्ध सबैसँग उनले आग्रह गरे ।
